नियम २७क
धितोपत्र दाखिला खारेज

(१) धितोपत्र बजारमा सूचिकरण भएका धितोपत्रहरू धितोपत्र व्यवसायी मार्फत खरीद बिक्री भएकोमा त्यस्तो धितोपत्रहरूको दाखिला खारेजका निमित्त बिक्री गरेको लिखत र धितोपत्रको प्रमाणपत्र समेत संलग्न राखी दाखिल खारेजका लागि धितोपत्र बजारबाट लेखी आएमा सम्बन्धित संगठित संस्थाले त्यस्तो धितोपत्र बिक्री गर्नेको नामबाट खारेज गरी खरीद गर्नेको नाममा दर्ता गरिदिनु पर्नेछ ।
(२) कुनै शेयरवाला वा ४७धितोपत्र व्यवसायीले शेयर प्रमाणपत्रमा उल्लेखित शेयरहरू एकीकरण गरी वा विभाजन गरी धितोपत्र कारोबारको निमित्त निर्धारित लटमा परिणत गरी छुट्टाछुट्टै प्रमाणपत्र माग गरेमा सम्बन्धित संगठित संस्थाले नियमानुसार दस्तुर लिई छुट्टाछुट्टै प्रमाणपत्र बनाई दिनु पर्नेछ ।
(३) कुनै व्यक्तिले आफूले खरीद गरेको धितोपत्र आफ्नो नाममा दाखिल खारेज गर्नु अघि नै बिक्री गर्न चाहेमा सो धितोपत्र बिक्री गर्ने प्रयोजनको निमित्त आफूले प्राप्त गरेको लिखत र धितोपत्रको प्रमाणपत्र संलग्न राखी निवेदन दिएमा सो धितोपत्र संगठित संस्थामा दर्ता रहेको कुरा प्रमाणित गरी दिनु पर्नेछ ।
(४) कुनै व्यक्तिले आफूले खरीद गरेको धितोपत्र आफ्नो नाममा दाखिल खारेज हुनु अगावै अरु कसैलाई बिक्री गरिदिएमा त्यसरी बिक्री गरिदिएको लिखत र धितोपत्रको प्रमाणपत्र संलग्न राखी निवेदन दिएमा सम्बन्धित संगठित संस्थाले त्यस्तो धितोपत्र अन्तिम खरीदकर्ताको नाममा सोझै दाखिल खारेज गरिदिनु पर्नेछ ।
(५) उपनियम (१), (२), (३) र (४) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायका अवस्थामा सम्बन्धित संगठित संस्थाले धितोपत्रको दाखिल खारेज गर्न इन्कार गर्न सक्नेछ ।
(क) कुनै अदालत वा अधिकार प्राप्त अधिकारीबाट धितोपत्र हस्तान्तरण गर्न रोक्का गरिएकोमा,
(ख) संगठित संस्थाले तोकेको न्यूनतम इकाई भन्दा कम संख्यामा खरीद गरी बिक्री भएमा,
(ग) एकै व्यक्तिका नाममा रहन सक्ने अधिकतम संख्या भन्दा बढी हुने गरी खरीद बिक्री भएकोमा ।